भनिन्छ, जीवन सुख दुःखको यात्रा हो । मानिसहरुले जीवनमा विभिन्न किसिमको संघर्ष गरिरहेका हुन्छन् ताकि जीवनमा केही राम्रो गर्न सकियोस, आफ्नो र परिवारको भविश्यलाई सुरक्षित गर्न सकियोस । यस्तै किसिमको उदाहरणीय संर्घषको कथा बनेको छ, युनिक नेपाल वित्तीय संस्थाकी समुह सदस्य दिपा तामाङको । उहाँले आफ्नो जीवनका कयौं कठिन परिस्थितिलाई सामना गर्दै एक उदाहरणीय व्यवसायी बन्नु भएको छ ।
उहाँ बुबा सुक्का तामाङ्ग र आमा देउमाया तामाङ्गको आठौं सन्तानको रुपमा वि.स. २०३६।०९।२७ गते लमजुङ जिल्लाको दुधपोखरी गाँउपालिका वडा नं. ५ मा जन्मिनु भएको हो । हाल उहाँको परिवार बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. ७, शुक्रवस्तीमा बस्दै आएको छ । परिवारमा उहाँको श्रीमान् र १ छोरी सहित जम्मा ३ जना रहेका छन् ।
घरको आर्थिक अवस्था कमजोर रहेको परिवारमा जन्मिएकी दिपाको विवाह पनि त्यस्तै किसिमको समस्यामा गुज्रिरहेको परिवारमा भयो । विवाह हँुदा श्रीमान सोम बहादुर तामाङ एउटा सहकारीमा सानो पदमा करारमा कार्यरत थिए । तर, त्यो कमाइले घर परिवार चलाउन सकिने अवस्था भएन । त्यसैले उहाँको श्रीमान रोजगारी खोज्न परदेशिनु भयो । दिपा सँग अरु कुनै आयस्रोत थिएन । खान लाउन नै कठिन थियो । यही समयमा युनिक नेपाल लघुवित्त कार्यक्रम गाउँ गाउँमा आयो । दिपाले पनि समूहको बारेमा केही कुरा थापा पाउनु भयो र समूहमा आवद्ध हुनु भयो । उहाँले स सानो कर्जा पनि लिनु भयो र बचत गर्दै जानु भयो । श्रीमानको तीन वर्षको बैदेशिक बसाइ पनि त्यति राम्रो हुन सकेन । केही त आयमुलक कार्य गर्नु पर्छ भन्ने सोँचाई भइरहेको बेलामा युनिक नेपालका कर्मचारीहरुको सहयोग र दीपा र उनको श्रीमानले सल्लाह गरेर सानो भए पनि व्यवसाय सुरुगर्ने योजना बनाउनु भयो । यही योजना अनुसार मिति २०७५।०५।२५ गते युनिक नेपाल संस्थाबाट रु.९०,००० कर्जा लिएर १ ओटा भैंसी खरिद गरी भैंसीपालनको सुरुवात गर्नुभयो । श्रीमान श्रीमतिको लगनसिलता र मेहनतले त्यही एउटा भंैसीबाट राम्रो हुदै गयो । दुध विक्रि राम्रो भएको र आम्दानी पनि राम्रो हुन थालेपछि व्यावसाय बढाउने योजना बनाउनु भयो । केही आफ्नै लगानी र युनिकबाट थप कर्जा लिएर ३ ओटा भैंसी थपेर उहाँले २०७८।०५।०९ गतेका दिन ‘दिपा एकिकृत बहुउदेश्यि कृर्षि तथा पशुपंक्षी फर्म’ को नामबाट व्यवसाय दर्ता गरी वैधानिक रुपमा भैंसीपालन व्यावसाय सुरुवात गर्नुभयो ।
व्यवसाय सञ्चालनको क्रममा सुरुवातमा ठिकै सञ्चालन भएको थियो । तर व्यवसाय विस्तार गर्न रकमको अभाव थियो । क्षमता अनुसार युनिक नेपालबाट थप कर्जा लिएर विस्तारै व्यवसाय थप विस्तार गर्दै जानु भयो । युनिक नेपालबाट क्षमता अनुसार कर्जा लिन पाउने, समूहमै गएर किस्ता बुझाउन पाउने, बचत गर्न पाउने र आफूले चाहेकै बेलामा पनि बचत झिक्न पाउन जस्ता राम्रा सुविधाले व्यावसाय विस्तारमा सहज भयो । “कुनै पनि समुहमा आवद्ध नभएकोले शुरुमा त समुह बस्न नै डर लागेको थियो । तर विस्तारै बुझ्दै गए पछि धेरै नै राम्रो लाग्यो । सवै दिदि बहिनी घर परिवारको सल्लाहमा १२ दिनको तालिम लिएर २०६४।८।२८ गते मात्र केन्द्र नं २७ मा सानोश्री शाखामा समुह सदस्य बनेको हो ।” उहाँले आफ्नो पुरानो अनुभव सुनाउनु भयो ।
यस यूनिक नेपाल लघुवित्त वित्तिय सस्था लि. सानोश्री शाखामा आवद्ध भइ सकेपछि उहाँलाई कर्मचारीहरुको उत्पे्ररणा र मार्गदर्शन पछि व्यवसाय गर्ने थप शाहस र हौसला मिल्यो । सुरुमा त किस्ता तिर्न नसकिने होकि भनेर धेरै डर लागेको उहाँले बताउनु भयो । विस्तारै श्रीमान् श्रीमतीको कडा मेहनत र लगनशिलताबाट उँहाको व्यवसाय वृद्धि हुँदै गयो । पहिला लिएको ऋण सही ठाँउमा सदुपयोग गरी राम्ररी बुझाउन सकेपछि उहाँलाई ऋण लिएर फाइदा भएकोले हौसला मिल्यो र क्षमता अनुसार थप ऋण लिदैँ व्यवसायमा लगानी गर्दै प्रगति गर्दै जानुभयो । रु.९० हजारबाट सुरुवात गरेको उहाँको व्यवसाय विस्तार भई अहिले ४ वटा दुहुनो माउ भैंसी र ५ वटा अन्य र बच्चा समेत गरी जम्मा ९ वटा भैंसी रहेका छन् । दैनिक २० देखि ३० लिटर सम्म दुध बिक्री गरिरहनु भएको छ । यही भैसीपालन व्यावसायबाट आफू श्रीमान श्रीमति सहित थप एक जना १ जनालाई रोजगारी समेत दिन सफल हुनु भएको छ ।
हाल उहाँले युनिक नेपाल वित्तीय संस्थाबाट सामुहिक जमानीमा रु.२ लाख आयआर्जन कर्जा लिनु भएको छ । उहाँले यही भैंसीपालन व्यवसायबाट मासिक ६० देखि ७० हजारसम्म र वार्षिक करिब ८ लाख सम्म आम्दानी भएको अनुभव सुनाउनु भयो । यसबाट उहाँको घर परिवार चलाउन, छोरीलाई शिक्षादिक्षा दिन, ऋणको किस्ता तिर्न धेरै नै सहज भएको छ । व्यवसायबाट नै दिपा तामाङको जीवनशैलीमा एकदमै सकारात्मक परिवर्तन भएको छ । रोजगारीको लागि विदेश जानु भन्दा स्वदेशमा गरेको मेहनत र प्रतिफलले धेरै नै सन्तुष्ट रहेको उहाँको श्रीमान सोम बहादुर तामाङले बताउनु हुन्छ ।
युनिक नेपाल लघुवित्त वित्तिय सस्थालि ले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा आवद्ध भए पश्चात आफूहरुले धेरै नै सहयोग पाएको उहाँहरुको भनाई छ । आफुहरुले विगतमा धेरै नै दुःख समस्या भोगेको भए पनि अहिले व्यवसायी भएको र अरुलाई समेत रोजगारी दिन समेत सफल भएकोमा खुसी व्यक्त गर्नु भयो । व्यवसायी भए पछि समाजमा आफुलाइ हेर्ने दृष्तिकोण नै परिवर्तन भएको अनुभव सुनाउनु भयौ । आफुहरुले गरेको यहाँ सम्मको प्रगतिमा युनिक नेपालबाट प्राप्त साथ र सहयोग आफ्नो जीवनकोलागि अविस्मरणीय रहेको समेत बताउनु भयो ।
दिपा तामाङको परिवारमा थप उन्नति र प्रगती हँुदै जाओस । शुभकामना ।